महेन्द्रनगर, धनुषा
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकास्तरीय ८ औं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै क्षिरेश्वरनाथ नगरपालिका शिक्षा शाखाको आयोजनामा सम्पन्न प्रतियोगितामा नगरभित्रका १४ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दर्शनिया बोर्डिङ स्कुलले ९ स्वर्ण, ९ रजत र ७ काष्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । यस्तै, क्षिरेश्वर माध्यमिक विद्यालयले ९ स्वर्ण, ६ रजत र ३ काष्य पदकसहित दोस्रो स्थान तथा माध्यमिक विद्यालय रमदैया भवाडीले ५ स्वर्ण, ३ रजत र २ काष्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन कार्यक्रम शिक्षा शाखा प्रमुख दिपक खत्रीको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उप–प्रमुख रचना श्रेष्ठ माथेमा, वडा नम्बर ६ का वडा अध्यक्ष विनोद प्रसाद गुप्ता लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेल प्रशिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख सुखदेव यादवले खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, “विद्यार्थी जीवनमा पढाइसँगै खेलकुदलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ । खेलकुदले अनुशासन, नेतृत्व र राष्ट्रप्रेमको भावना विकास गर्छ ।”
त्यसैगरी नगर उप–प्रमुख रचना श्रेष्ठ माथेमाले विद्यालय तहदेखि नै खेल प्रतिभाको पहिचान र प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्दै,
“यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्छ,” भनिन् ।
कार्यक्रमका अध्यक्ष शिक्षा शाखा प्रमुख दिपक खत्रीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै विद्यालय, शिक्षक, प्रशिक्षक र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै खेल प्रशिक्षक राजेन्द्र सिंहले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र अनुशासन बढाएको बताउँदै भने, “यस्ता प्रतियोगिताले लुकेका खेल प्रतिभा उजागर गर्न ठूलो भूमिका खेल्छ । स्थानीय तहबाटै निरन्तर अभ्यास र अवसर पाउने हो भने यहाँका विद्यार्थीहरू प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्न सक्छन् । नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर आयोजना गरेको यो प्रतियोगिता प्रशंसनीय छ ।”
कार्यक्रमको अन्त्यमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा खेलाडीहरूलाई अतिथीहरूको हातबाट शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग