महेन्द्रनगर, धनुषा धनुषा क्षेत्र नं. १ अन्तर्गत सबैला नगरपालिका वडा नं. ४ पटेरबामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचार–प्रसार समिति गठन गरेको छ । प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवार किशोरी साहको घरदैलो कार्यक्रमको क्रममा उक्त समिति गठन गरिएको हो । घरदैलोका क्रममा स्थानीय मतदाता, युवा, महिला तथा समाजसेवीहरूको उल्लेख्य सहभागितामा प्रचार–प्रसार समिति गठन गरिएको बताइएको छ । समितिले आगामी दिनमा घरदैलो अभियानलाई तीव्र बनाउने, पार्टीको नीति तथा कार्यक्रम जनतासम्म पु¥याउने र स्थानीय तहमा संगठन विस्तार गर्ने जिम्मेवारी लिएको छ । उक्त अवसरमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोरी साहले देशमा वैकल्पिक राजनीति आवश्यक रहेको उल्लेख गर्दै पुराना राजनीतिक दलबाट जनतामा निराशा बढेको बताए । उनले भने, “देश र जनताको पक्षमा इमान्दार, पारदर्शी र जवाफदेही राजनीति आवश्यक छ । राष्ट्रिय स्वतन्त्र पार्टी जनताको आवाज संसदसम्म पु¥याउन प्रतिबद्ध छ । उम्मेदवार साहले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन आफ्नो प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै जनताको विश्वास र समर्थनले मात्र सकारात्मक परिवर्तन सम्भव हुने बताए । “अब भाषण र आश्वासन होइन, काम गरेर देखाउने समय आएको छ । म जनताको प्रतिनिधि बनेर जनताकै पक्षमा आवाज उठाउनेछु,” उनले थपे । कार्यक्रममा स्थानीयवासीहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास बढ्दै गएको प्रतिक्रिया दिँदै परिवर्तनका लागि नयाँ शक्तिलाई अवसर दिनुपर्ने धारणा राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले धनुषा क्षेत्र नं. १ का विभिन्न वडामा प्रचार–प्रसार तथा संगठन विस्तारलाई तीव्र बनाउँदै लगेको जनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech