महेन्द्रनगर, धनुषा मिथिला नगरपालिका नगर कार्यपालिकाको कार्यालयले अनुमति नलिई सञ्चालन भइरहेको निर्माण कार्य तथा अन्य गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । नगरपालिकाले जारी गरेको पत्रमार्फत श्री पूर्णब्रह्म कबीर उपासक समाज नेपाल, सतलोक आश्रम, नक्टाझिज धनुषालाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगरपालिकाबाट स्वीकृति नलिई कुनै पनि भवन निर्माण तथा गतिविधि गर्न नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ । पत्रमा उल्लेख भएअनुसार गैर–सरकारी संस्थाहरूले नगरपालिकाबाट अनुमति लिई मात्र आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने भए पनि उक्त आश्रमले अनुमति बिना संरचना निर्माण लगायतका गतिविधि गरेको भनी व्यापक जनगुनासो प्राप्त भएको जनाइएको छ । सोही आधारमा नगरपालिकाले उक्त कार्यहरू यथाशीघ्र रोक्न अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख महेन्द्र महतोद्वारा हस्ताक्षरित पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय महेन्द्रनगर तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प नटटाडीज, धनुषालाई समेत दिइएको छ । मिथिला नगरपालिकाले कानुनी प्रक्रिया विपरीत गरिने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै नियमअनुसार मात्र काम गर्न सबैलाई आग्रह गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech