महेन्द्रनगर, धनुषा नेपाल पत्रकार महासंघ धनुषाले महेन्द्रनगरमा समाचार संकलनका क्रममा पत्रकारहरूमाथि भएको दुव्र्यवहार, अवरोध तथा सवारी साधन नियन्त्रणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ धनुषाका अनुसार महेन्द्रनगर क्षेत्रमा सतलोक आश्रमको जग्गा सम्बन्धी विवादको समाचार संकलनका क्रममा खटिएका सञ्चारकर्मीहरू माथि दुव्र्यवहार भएको हो । रिपोर्टिङका क्रममा रहेका पत्रकार विजय कुमार साह (गोरखापत्र), विजय कुमार सिंह (अनपुर्णपोस्ट), रोहित खनाल ‘सम्राट’ (न्युज अफ नेशन) र कृष्ण यादव (सिटी टिभी अनलाइन) सवार मोटरसाइकल जबरजस्ती नियन्त्रणमा लिइएको र उनीहरू माथि अपमानजनक व्यवहार गरिएको महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघ धनुषाले उक्त घटनालाई निन्दनीय, आपत्तिजनक तथा प्रेस स्वतन्त्रता माथिको गम्भीर प्रहारको रूपमा लिएको छ । समाचार संकलनकै क्रममा पत्रकार माथि हुने यस्ता आक्रमण, धम्की तथा अवरोधले प्रेस स्वतन्त्रता र नागरिकको सूचित हुने संवैधानिक अधिकार कमजोर बनाउने महासंघको ठहर छ । महासंघले पत्रकार माथि नियन्त्रण र दुव्र्यवहार हुनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको बताउँदै यस्ता गम्भीर घटनामा प्रहरी प्रशासन मौन बस्नु चिन्ताजनक रहेको उल्लेख गरेको छ । यस घटनामा संलग्न सतलोक आश्रमका प्रतिनिधि दोषी माथि तत्काल कारबाही गर्न तथा पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग महासंघ धनुषाले माग गरेको छ । साथै, स्वतन्त्र प्रेसविरोधी गतिविधिमा संलग्न नहुन सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै कुनै पनि समाचार सामग्रीको प्रसारण तथा प्रकाशन गर्दा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को पूर्ण पालना गर्न सञ्चार माध्यम र पत्रकारहरूलाई महासंघले आग्रह गरेको छ । समाजमा सद्भाव, धार्मिक सहिष्णुता र व्यावसायिक मर्यादा कायम राख्दै सुरक्षित, मर्यादित र अनुकूल वातावरणमा समाचार सम्प्रेषण सुनिश्चित गर्न सरोकारवाला सबै पक्षले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech